त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई सरकारले जनही २ लाख दिने
काठमाडौं । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै, नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ । युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।
रोहितको आक्रामक ब्याटिङ र सन्दिपको ४ विकेटले नेपाललाई जित, सिरिज क्लिनस्विप
काठमाडौं । नेपालले विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि २ विकेटले जित हासिल गरेको छ । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङले नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरर जित हासिल गरेको हो । उनले अविजित ९५ रन हाने । १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालले लिग–२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो । बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिए । लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका हुन् । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।
उद्यमी कपिल न्यौपानेले दिए खेलकुद महासंघको उपाध्यक्षमा उम्मेदवारी
काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको उपाध्यक्षमा युवा उद्यमी कपिल न्यौपानेले उम्मेदवारी दिएका छन् । आइतबारदेखि विराटनगरमा भएको महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा न्यौपानेले उम्मेदवारी दिएका हुन् । न्यौपानेको उम्मेदवारीमा राजन सुवेदी प्रस्तावक र विकास कुमार केसी समर्थकको रुपमा रहेका छन् । जलविद्युत, घरजग्गा लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका न्यौपाने यसअघि खेलकुद महासंघको सचिवको जिम्मेवारीमा रहेका थिए । नेपालको खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् । महासंघको महाधिवेशनले पदाधिकारी सहित दुईसय ९९ केन्द्रीय समितिको निर्वाचित गर्ने जनाइएको छ ।