युवाले नै पाए युवा मन्त्रालयको जिम्मा, को हुन् विराज भक्त श्रेष्ठ ?
काठमाडौं । प्रतिनिधिसभाको सांसद बनेको पहिलो पटक नै मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का नेता श्रेष्ठ सांसद बनेको पहिलो पटक नै युवा तथा खेलकुद मन्त्री बनेका हुन् । यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका हुन् । काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो पहिलो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाकारूपमा हेरेका छन् । उनी रास्वपाको संसदीय दलको उपनेता समेत हुन् ।
त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए । नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा नेदरल्याण्ड्सले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए । नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट भए । नेदरल्याण्ड्सको जितमा बलर टिम भान डेर गुग्टेन पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनको योगदान दिए भने रोलफ भान डर पर्व दुई बनाए । यी दुवै खेलाडी अविजित रहे । नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए । जारी शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुच्छारमा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजिति गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुछ तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो । रासस
नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छरछ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए ।