एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान
काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । त्यस्तै कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरिएको समितिले जनाएको छ । कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्र र टोकन अफ लभ प्रदान गरिएको छ । सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वक्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । समितिले जाजरकोट भूकम्पप्रभावितलाई सहयोग पनि गरेको छ । समितिले फाइबरको सिरक ८३५ थान र पि. फम मेट ९०० थान तथा दाल १ किलो र नुन १ किलो राखेर प्याक गरिएका ४०० वटा प्याकेट चामल हस्तान्तरण गरेको हो । मारवाही समुदायको धार्मिक र सामाजिक परम्पराअनुसार समाजका बन्धुवान्धव भेला भई एक आपसमा शुभकामना आदानप्रदान गरी भाइचाराको सम्वन्ध अभिवृद्धिका लागि हरेक बर्ष दीपावली स्ने समारोह आयोजना गर्ने गरिन्छ ।
महिला टी-२० सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन । यससँगै अब हङकङले पहिला बलिङ गर्ने भएको छ । नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।
चार देशीय महिला क्रिकेटमा नेपाल २७ रनले पराजित
काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।