काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ ।
डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् ।
कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ ।
डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ ।
डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने ।
यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ ।
डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।