नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ चार विकेटले पराजित
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो । जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे । बलिङतर्फ वेष्ट इन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए । बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले वेष्ट इन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ । रासस
बैंकरका सामू राष्ट्र बैंक स्तब्ध
काठमाडौं । बैंकरहरूका सामू नेपाल राष्ट्र बैंक स्तब्ध भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेकाे हाे । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच बुधबार भएकाे मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकर्सले ५-२ गोलले जित हासिल गरेका हुन् । बैंकर्सको टिमबाट कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङले २ गोल गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी (सिनियर डीसीईओ) सुमन पोखरेलले एक/एक गोल गरे । राष्ट्र बैंककाे तर्फबाट डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक ऋषिकेश भट्टले एक/एक गोल गरे । राष्ट्र बैंककाे टिमबाट डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक भट्ट, पिताम्बर भण्डारी, प्रदीपराज पौड्याल, नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, गुरू प्रसाद पौडेल, बिमल राज खनाल र निर्देशक राम प्रसाद गौतम र राजनबिक्रम थापाले फुटसल खेलेका थिए । बैंकरहरूको टिममा वाणिज्य बैंकबाट ६ जना, विकास बैंकबाट २ जना र फाइनान्स कम्पनीबाट ३ जना सीईओले खेलेका थिए । गत वर्षको मैत्रीपूर्ण खेलमा राष्ट्र बैंकले बैंकरहरूलाई हराएको थियो । यस पटक भने बैंकरहरूले जित हासिल गर्दै गत वर्षकाे बदला लिएका हुन् ।
२.२६ मिनेटको अन्तरले जिते सञ्जयले लेखनाथ हाफ म्याराथन
काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भएका छन् । उनले १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे । उपविजेता बोगटीले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सशस्त्रका खिमबहादुर खत्रीले १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः १० हजार, ५ हजार रुपैयाँ पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ बने । यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भइन् । महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पाएका छन् । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । यसैगरी भेट्रान्स ५ किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । विद्यालय छात्रतर्फ ५ किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६ विधामा गरेर ४ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए ।