एसिसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियालाई ३०१ रनले हराउँदै सेमिफाइनलमा प्रवेश भयो नेपाल

काठमाडौं । एसिसी उन्नाईस वर्षमुनि (यू-१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ । मलेसियाको युएसडी-युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलालले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुईरदुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एकरएक विकेट लिए । रासस

सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको दावी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताएका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले यसै साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को कार्यकारी बोर्डको बैठक आयोजना गर्दैछ । जसले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलमा भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई समावेश गर्ने निर्णय गरिसकेको छ । मोदीले आफ्नो सरकारका सदस्यहरूको महिनौंको संकेतपछि बैठकको औपचारिक उद्घाटन गर्दै यो भारतका १ अर्ब ४० करोड जनताको ‘सपना र आकांक्षा’ भएको बताएका थिए । “सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले कुनै कसर बाँकी राख्ने छैन,” उनले भने । प्रधानमन्त्री मोदीले ओलम्पिक आयोजनाका लागि कुन शहरले आवेदन दिने भन्नेबारे भने जानकारी दिएनन् । तर, सञ्चारमाध्यमका अनुसार उनको गृह राज्य गुजरातको राजधानी अहमदावादले खेल आयोजनाका लागि आवेदन दिने सम्भावना सबैभन्दा बढी रहेको छ ।

सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरलाई गर्यो स्वागत

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो । सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमको एक कार्यक्रमका बीच स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका हुन् । यस प्रकारको स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।