गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, सरकारले दियो सहमति

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई  रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेटअनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई हिजो नै प्रस्ताव पठाइएको बताइन्  । पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनले जानकारी दिए, ‘लागत तयार गर्दा पहिलो चरणमा एक अर्बको काम गर्नैपर्ने देखिएकाले ७० करोड प्रदेशलाई व्यवस्था गर्न भनेका छौँ । ३० करोड हामी व्यहोर्छाैं ।’ चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस् : मेयर साह

काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्’, उनले भने । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

किक बक्सिङ प्रतियोगितामा नेपालका शेर्पाले जिते स्वर्ण पदक

काठमाडौं । नेपालले किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेको छ । नेपालका लागि निमा साङ्गे शेर्पाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । शेर्पाले प्रतियोगिताको पहिलो राउन्डमा भारत, दोस्रो राउन्डमा थाइल्यान्ड र तेस्रो राउन्डमा बंगलादेशलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता १२ विभिन्न देशहरूको खेलाडीहरुको सहभागिता रहेको थियो । ग्रान्ड बक्सिङ हब नेपालद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको स्पोन्सर हेल्पि ह्यान्डस रहेको थियो । बालबालिकादेखि नै खेलकुदमा लागेका शेर्पाले यसअघि पनि निकै प्रतियोगिताहरु जितिसकेका छन् । गुरु राम महर्जनको सहयोगले नै आफुले खेल जित्न सकेको शेर्पा बताउँछन् । उक्त खेलको लागि शेर्पाको स्पोन्सर एनआइसी एकेडेमी र सप्तगण्डकी एकेडेमी रहेको थियो ।