डिएभी कलेजको अन्तर-कलेज फुटसल कप सम्पन्न

काठमाडौं । डिएभी कलेजको दोस्रो बिसीए अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर स्थित डिएभी कलेजले दोस्रो बिसीए अन्तर–कलेज फुटसल कप फागुन २५ देखि २७ गतेसम्म सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बिसीए कलेज सम्बद्ध २७ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टिमका पूर्वकप्तान राजुकाजी शाक्य, डिएभी कलेजका अध्यक्षअनिल केडिया, डिएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोज कुमार चौधरी, केडिया अर्गनाइजेशनका मिडिया एण्ड कर्पोरेट हेड राजकुमार शाह एमबिए कलेजका कोर्डिनेटर राजेश चौधरी र बिसीए कलेजका प्रोग्राम कोर्डिनेटर शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । उद्घाटन सत्रमा सहभागी कलेजहरुका प्रतिनिधि शिक्षक र कर्मचारीहरु समेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बिसीए कलेजहरु बिच नेपालमै प्रथम पटक आयोजना गरिएको बि।सी।ए। कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्ट लाई निरन्तरता दिदैँ दोस्रो संकरण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ । यस वर्ष जनमैत्री कलेजले डिएभी बिसीए अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्यो । त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै सरस्वती बहुमुखी क्याम्पसले ७५ हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पार्यो । उक्त प्रतियोगितामा सरस्वती बहुमुखी क्याम्पसका अन्जन मगरले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै जनमैत्री कलेजका खेलाडीद्वय सनम श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र निखिल ‘गोले’ लामाले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टिफिकेट र गिफ्ट ह्याम्पर द्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडिया, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सीताराम अग्रवाल लगायत कलेजका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र शुक्र राज घलेको उल्लेखनीय योगदान रहेको थियो । टुर्नामेन्ट अबधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरु गरी करिब पाँच हजार दर्शकहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता वीज्जीडिएभी ईभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा संचालन गरिएको हो । टुर्नामेन्टको संचालन बिभागिय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र दिपेश शाक्य र भाइस—प्रेसीडेन्ट रहिता शाक्यले गरेका थिए ।

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने

काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । बैंकका अनुसार उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो । २३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०÷१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।