नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए । उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए । नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ । यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन् । विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत छन् । रासस

नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।