‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ जेठ २२ देखि
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण- ३ यही जेठ २२ गतेदेखि जेठ २४ गतेसम्म इमाडोल, ललितपुरस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रूपमा रहेको छ । कुल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ । शुक्रबार आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरूले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै, सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका थिए । लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहने छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक÷युटयुब च्यानल) मार्फत हुनेछ ।
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् । उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । उनले केही दिन अघिमात्र बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएका थिए ।
एक हजार युवालाई फेलोसिप, खेलाडीलाई भत्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका प्रतभिावान युवालाई फेलोसिप प्रदान गर्ने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले देशका १ हजार युवालाई छनोट गरेर फेलोसिुप प्रदान गर्ने बताएका हुन् । यस्तै, उनले खेलकुदको प्रोत्साहन गर्न खेलाडीलाई जिवन निर्वाह भत्ता प्रदान गरिने घोषणा गरेका छन् । उनले विभिन्न क्रिकेट रंगशाला निर्माण कार्यलाई प्राथमिकता दिने बताएका छन् ।