क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गरौँ : सांसद आचार्य
काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै छानबिन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको जानकारी दिए । ‘अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानबिन गरोस्’, उनले भने । उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।
अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंंकमा रन बनाउन सकेनन् । समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंंक बाँड्दै पाँच अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
टि २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध
काठमाडौं । आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अंक भएको छ भने श्रीलंकाको तीन खेलबाट १ अंक छ । तीन खेलमा श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो । यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग् वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बंगलादेशसँग खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।