रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार

काठमाडौं । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन)बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिए । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका हुन् ।

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।  रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए । रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ । रङ्गशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रङ्गशालाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ ।   

एनपीएल अक्सनमा अधिकांशको रोजाइमा परेका चार खेलाडी, तोकेभन्दा ५० प्रतिशत बढी मूल्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)  को दोस्रो सिजनको अक्सनमा चारवटा खेलाडी धेरै रुचाइएका छन् । शनिबार भएको अक्सनमा चारवटा खेलाडी अधिकतम १५ लाख रुपैयाँमा बिक्री भए । ती चारवटै खेलाडीलाई खरिद गर्नका लागि अधिकांश टीम तयार भए ।  तर, लक्की ड्रमार्फत भाग्यमानी टीमले उनीहरूलाई पाउन सफल भए । अक्सनमा सबैभन्दा बढी रुचाइएका ए क्याटेगोरीका खेलाडी हुन् मोहम्मद आदिल आलम । जसको लागि आठवटै टिमले बोलकबोल गरे ।  लक्की ड्रमार्फत् उनी काठमाण्डू गुर्खाजमा आवद्ध भए । १५ लाख रुपैयाँमा उनलाई पाउन गुर्खाज भाग्यवानी सावित भयो । यस्तै, पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई पनि दुईभन्दा बढी टिमले बोलकबोल गरे । पवनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । तर, उनलाई पाउन कर्णाली भागमानी बन्यो । उनी पनि १५ लाखमा बिक्री भए ।  अक्सनमा अर्जुनलाई पाउनका लागि चितवन, कर्णाली र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत चितवनले उनलाई १५ लाखमा अनुबन्ध गर्‍यो ।  यस्तै, देव खनाल पनि १५ लाखमा बिक्री भए । अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको नै बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोज भाग्यमानी सावित भयो । उनी यसअघि कर्णाली याक्समा थिए ।  ‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा ए खेलाडीको १० लदाख तोकिए पनि उनीहरू भने त्यसको ५० प्रतिशत बढी मूल्यमा बिक्री भए । ‘ए’ श्रेणीमा कुल आठजना खेलाडी रहेका थिए ।