२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे । पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे । भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३-अन्डर  ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए । लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । सुबाशले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-अन्डर ३४ खेले । यो क्रममा उनले  तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो । तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो । त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो । नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।  त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक/एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।