सूर्य नेपाल च्यालेन्ज भोलिदेखि सुरु, ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडी सहभागी हुने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन् । चार दिने प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोहीअनुसार कठीन बनाइएको छ । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। यो पटक नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले व्यक्तिगत कारण सहभागीता नजनाउने भएका छन् । सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीहरूलाई कडा चुनौती दिन सक्ने आँकलन गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशस् ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् ।
काठमाडौं महानगर दोस्रोपटक मेयर कपमा विजेता, पेनाल्टीमा गोदावरी पराजित
काठमाडौं । काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ । फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो शृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ । गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो । यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो । सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो । गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए । महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १÷१ गोल दिलाउनुभएको थियो । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गर्नुभएको १ गोलले महनगरपालिकालाई जिताएको थियो । महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए । प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।
प्रधानमन्त्री कप भलिबलमा शिवम् सिमेन्टको साथ, ‘स्ट्रेन्थ पार्टनर’का रूपमा सहकार्य
काठमाडौं । राष्ट्रिय खेलका रूपमा मान्यता पाएको भलिबलको लोकप्रियता नेपालमा तीव्र रूपमा बढिरहेको बेला, यसको प्रवर्द्धनमा निजी क्षेत्रको सहकार्य पनि उल्लेखनीय बन्दै गएको छ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने ९औं प्रधानमन्त्री कप एनभीए महिला–पुरुष भलिबल लिग २०८२ मा शिवम् सिमेन्ट लिमिटेड ले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने घोषणा गरेको छ । नेपाल भलिबल संघ द्वारा आयोजित प्रतियोगिता आगामी सात दिनसम्म पोखरा रंगशालाको कभर्ड हलमा हुनेछ, जसमा ६ महिला र ८ पुरुष टिम गरी १४ टिम सहभागी हुनेछन् । खेलमा प्रतिदिन ३–४ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। शिवम् सिमेन्ट र नेपाल भलिबल संघबीच सहकार्य सम्झौतामा संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स तथा मार्केटिङ उपाध्यक्ष निखिल अग्रवाल ले हस्ताक्षर गरेका हुन् । शिवम् सिमेन्टले यसअघि पनि शेरबहादुर स्मृति महिला भलिबल कप, न्यु डाइमन्ड एकेडेमी टिम, र कर्णाली यशविस टिम (एभरेस्ट लिग) जस्ता विभिन्न भलिबल प्रतियोगितामा सहकार्य गर्दै आएको छ । शिवम् सिमेन्टले भलिबल, क्रिकेट, फुटबल र म्याराथनजस्ता लोकप्रिय खेलहरूमा लगानी र सहभागिता बढाउँदै आएको छ । कम्पनीले राष्ट्रिय खेलकुदको दिगो विकासका लागि आगामी दिनहरूमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।