डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न, उपाधि सीजी कम्युनिकेसनलाई
काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो । प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन) बाट चयन भए । समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए ।
पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिरा र पुजा महतोबीच ब्राण्ड एम्बासडर सम्बन्धी सम्झाैता भएको हो । सम्झाैता पत्रमा विरा कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जन र पुजाले हस्ताक्षर गरिन् । पुजाको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको थियो । पुजा सिनियर टिमको समेत उपकप्तान बनिसकेकी छन् । पुजाको राष्ट्रिय टिमको किकेट करियर अवधिभरका लागि सम्झाैता गरिएको विरा एजुकेसनले जनाएको छ । ब्रान्ड एमबासडर बनेपछि पुजाले यो आफ्ना लागि गर्वको क्षण भएको बताइन् । ‘यो मेरा लागि गर्वको क्षण हो । मेरो ममी ड्याडीलाई यो अवसरमा धेरै धन्यवाद दिन चाहन्छु । यो शिक्षा र क्रिकेटको बण्ड राम्रो छ’ उनले भनिन् । सम्झौताको रकम भने खुलाइएको छैन । ‘अमाउन्ट भन्दा वुमन इम्पावरमेन्टका लागि पुजासँगै काम गर्न खोजेको हो । यति नै अमाउन्ट भनेर डिस्क्लोज गर्न मिल्दैन । हरेक वर्ष रकम बढ्दै नै जान्छ होला’ एमडी महर्जनले भनिन् ।
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उनले बताए । ‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ’, उनले भने, ‘अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।’ समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ । मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ । ‘क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे)को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ’, गाउँपालिकाका अध्यक्ष तिवारीले भने, ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।’ क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ । रासस