प्रशिक्षकको योजना अनुसार जित्यौं : कप्तान साह, अबका खेलमा विराटनगर किङ्ग्स बलियो बन्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताए । उनले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताए । त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ ।’ विराटनगरले दिएको १२८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्ज समेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताए । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनको भनाइ छ । ‘भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ,’ उनले भने ।
विराटनगर किङ्सलाई हराउँदै जनकपुरको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनरग किंग्सलाई हराउँदै विजयी सुरुवात गरेको हो । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।