एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ । चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । ।
आमाहरूको फुटबल प्रतियोगिता
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो’, उनले भने, ‘खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’ आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।
एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर
काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायीक फुटबल लिग हो । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ । एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँ पु¥याउने बताए । त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीसीओ) उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।