नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने भएको छ । कम्पनीले असोज ३ र ४ गते गर्ने भनिएको प्रतियोगिता देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको थियो । अब उक्त प्रतियोगिता मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा हुने भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू सहभागी हुन सक्नेछन् । यसअघि दर्ता भएका कम्पनी वा टिमहरूले पुनः दर्ता गरिरहन आवश्यक छैन भने नयाँ टिमहरू पनि दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच समन्वय, सद्भाव, आत्मविश्वास र स्वास्थ्य चेतना विकास गर्नु रहेको जनाएको छ ।
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं गोर्खाज भिड्ने
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन् । दिनमा २ वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका ३ खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् ।
चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।' भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।