अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने सम्भावना

काठमाडौं, १९ कात्तिक । अर्जेन्टिनाले सन २०१८ मा रुसमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगीता खेल्न नपाउने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजा स्वयंले नै अर्जेन्टिना विश्व कप छनौटका लागि चुनौतीपुर्ण अवस्थामा पुगेको खुलासा गरेका हुन् । फिफाले विश्व कप छनौट खेलिरहेको बोलिभियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही गरेपछि अर्जेन्टिनाको विश्वकप खेल्ने सम्भावनामा कम भएको हो । बोलिभियाले चिलीलाई बराबरीमा रोकेको थियो भने पेरुलाई २ गोलले पराजित गरेको थियो । तर फिफाले बोलिभियालाई चिली र पेरुसँग ३ गोलले पराजित भएको नजिता घोषणा गरिदिएको छ । यसले चिलीलाई थप २ अंक प्राप्त भएको छ र ऊ पाँचौं नम्बरमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट चार मुलुकले आगामी विश्वकप खेल्न पाउनेछन् । तर हालसम्म अर्जेन्टिना सो समुहको ६ औं नम्बरमा रहेको छ । अब अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहेको छ । जसमा ब्राजिल र कोलम्बिया जस्ता बलिया प्रतिष्पर्धीसँगको खेल्नुपर्नेछ । नोभेम्र १० मा अर्जेन्टिनाले ब्राजिल र १५ तारिखका दिन कोलम्बियासँग प्रतिष्पर्धा गर्नेछ ।

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

काठमाडौं १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ । महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ । यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस

सात करोड खर्च भैसकेको क्रिकेट मैदानलाई १७ लाख अभाव, निर्माण कार्य तीन वर्षदेखि ठप्प

काठमाडौं ३, कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ । सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ, थप १७ लाख खर्च भए मैदान सञ्चालनयोग्य बन्छ । तर, गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेपछि निर्माण कार्य थप अन्योलतर्फ धकेलिएको समाचार बुधबारको नयाँ पत्रिका दैनिका दैनिकमा छापिएको छ । मूलपानी क्रिकेट मैदानको फाइल तस्बिर केकेमा खर्च भयो सात करोड ? मूलपानी मैदान निर्माणका लागि अहिलेसम्म झन्डै सात करोडभन्दा बढी खर्च भइसकेको छ । पेभिलियन निर्माणका लागि सरकारले क्यानलाई चार करोड उपलब्ध गराएको थियो । त्यसबाहेक मैदान सम्याउन ८० लाख, पिच निर्माणका लागि १५ लाख, पर्खाल निर्माणका लागि ६५ लाख, दोस्रोपटक मैदान सम्याउन तीन लाख खर्च भएको छ । सातमध्ये पाँच करोड सरकारले उपलब्ध गराएको हो । बाँकी रकम क्यानले आइसिसी विकास कार्यक्रमबाट खर्च गरेको हो । काम के भो ? क्यानले मूलपानीमा मैदान निर्माण कार्य सन् २००७ देखि थालेको हो । सरकारले मैदान सम्याउन एक करोड बजेट उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको थियो । लामा कन्ट्रक्सनले ०६४ मा ८० लाख रुपैयाँमा मैदान सम्याएको थियो । त्यही वर्ष गौरा कन्स्ट्रक्सनले चार करोडमा पेभिलियन निर्माण गर्ने ठेक्का पायो । गौराले तीन वर्षमा पेभिलियन निर्माण सक्दै क्यानलाई हस्तान्तरण गरिसकेको छ । ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए । सातवटा पिच निर्माण गर्न १५ लाख लगानी लागेको थियो । ०६९ मा गौराले ६५ लाख रुपैयाँ लगानीमा पर्खाल बनाएपछि मैदान निर्माण कार्य रोकिएको छ । के–के काम बाँकी छ ? निर्माण कार्य रोकिए पनि मूलपानी मैदानले स्वरूप भने लिइसकेको छ । मैदानलाई खेल्नयोग्य बनाउन तीनवटा काम बाँकी रहेको क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाले जानकारी दिए । ‘पिचलाई पूर्णता, मैदानको सतह मिलाउने र तारबार लगाउन सके खेल्नयोग्य हुन्छ,’ लामाले भने, ‘त्यसका लागि बजेट पनि धेरै लाग्दैन । लगभग १७ लाख बजेट उपलब्ध भए ४५ दिनभित्र मैदानलाई खेल्नयोग्न बनाउन सकिन्छ ।’