लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी
काठमाडौं । मोहम्मद सलाह प्रेरित लिभरपुलले च्यापियन्स लिगको उपाधी जितेको छ । आइतबार बिहान भएको उपाधी भिडन्तमा लिभरपुलले टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी चुमेको हो । खेल सुरु भएको २ मिनेटमै लिभरपुलले पेनाल्टी पायो र त्यसलाई सलाहले गोलमा परिणत गरे । खेलेको ८७ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । दबावमा खेलेको लिभरपुलले टोटनह्यामलाई गोल गर्ने अवसर भने दिएन् । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगको टोटनह्याम भने खेलमा पकड जमाएर पनि पराजित हुने पुग्यो ।
राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई वाणिज्य बैंकको प्रायोजन, २ वर्षलाई २४ लाख प्रदान गर्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघबीच पाँचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् । विसं.२०७६ र २०७७ का लागि २४ लाख रुपैयाँ प्रदान गर्ने गरी दुई वर्षको लागि भएको सो सम्झौतापछि राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबीबी–एनभीए नाम राख्नु पर्ने सम्झौता भएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखि नै सहयोग गरेको बताउँदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए । नेपाल भलिबल संघका अध्यक्ष शर्माले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको बताए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र यादब, राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख एवम् खेलकुद समितिका अध्यक्ष देबेन्द्ररमण खनाल, विभागीय प्रमुख सुनिता मानन्धर, कम्पनी सचिव भोलानाथ पौडेल, बैंक खेलकुद समितिका पदाधिकारीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्द लगायतको उपस्थिथि थियो ।
नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार
बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे। जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।