करिब १० लाख रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण हुँदै

पोखरा, ३० मंसिर । पोखरा रङ्गशालामा लगभग १० लाख ५० हजार रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । “हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उनी भन्छन्– “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।” पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस

क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार

काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।

एसिया कप क्रिकेट-नेपाली टोलीको घोषणा

काठमाडौं, २० मंसिर । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मंसिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् । कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । त्यस्तै छनोट हुने खेलाडीहरुमा अभिनाश कर्ण, असिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार छन् । त्यसैगरी रवीन्द्रजङ्ग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छनोटमा परेका छन् । अन्तरर्राष्ट्रि«य क्रिकेट परिषद्को एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले उक्त टोलीको घोषणा गरेको हो । रासस