नेपाल इन्स्योरेन्स कम्पनीले चितवन टाइगर्सका खेलाडीको बीमा गर्ने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोयजन स्वरुप गर्ने समझदारी भएको छ । यस सम्बन्धि सम्झौतामा नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको प्रतिनिधिबीच भएको हो । आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणको लागि बीमा पनि हुने उनले बताए । चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।
पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली
काठमाडौं। नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् । प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो । वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए। छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन् । विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो । रासस
आइएमई ग्रुपका ग्राहकलार्इ बुढानिलकण्ठकाे भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट
काठमाडौं । आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् । ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुपअन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी मंसिर १ गतेबाट दुई वर्षसम्म कायम हुनेछ ।