पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह-प्रायोजन
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह-प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउनु भयो । सम्झौताअनुसार डिस मिडियाले अवार्डकालागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफबक्स र दुई बर्षसम्मनिशुल्क सुविधा उपलब्ध गराउने छ । ‘ डिस मिडियासँग सम्झौतामा यसपटक रकम गतवर्ष भन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यसपटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।
कोपा अमेरिका कपमा नेइमार बिनै ब्राजिलको सानदार जीत, काउटिन्होको २ गोल
काठमाडौं । कोपा अमेरिका कप फुटबल प्रतियोगीतामा ब्राजिलले शानदार जीत हासिल गरेको छ । स्टार खेलाडी नेइमार बिनै खेलेको ब्राजिलले बोलिभिया विरुद्ध ३ गोलको जित निकालेको हो । पहिलो हाफ बराबरी खेलेको ब्राजिलले दोश्रो हाफको सुरुमै ब्राजिलले पेनाल्टी पायो र काउटिन्होले त्यसलाई सहजै गोलमा परिणत गरे । ५३ औं मिनेटमा काउटिन्होले अर्काे गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इभर्टन सोअर्सले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे । कोपा अमेरिका कप शनिबारदेखि ब्राजिलमा सुरु भएको हो । ७५ प्रतिशत बल पोजिसन लिएको ब्राजिलले गोल गर्न भने दोश्रो हाफ कुर्नु परेको थियो । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल लामो समयदेखि उपाधी बिहिन बन्दै आईरहेको छ । घरेलु मैदानमा आयोजीत कोपा अमेरिका कप जितेर ब्राजिलले खराब दिनहरुको अन्त्य गर्ने अपेक्षा गरेको छ ।
नुवाकोट गोल्डकपको फाइनलमा नुवाकोट ११, विजेतालाई ६ लाख नगद
नुवाकाेट । नुवाकोट गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नुवाकोट ११ (१-०) गोलले बिजयी भएको छ । नुवाकोट ११ र नेपाल पुलिस क्लब बिचको खेलमा नुवाकोटको लागि बिदेशी खेलाडी रोमियोले ३९औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। दोश्रो हापमा कुनै पनि टिमले गोल गर्न नसक्दा नुवाकोट ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षीत बनाएको हो । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल संकटा क्लब र च्यासल युथ क्लब बिच भोलि हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । फाइनलको लागि नुवाकोट ११ ले दोश्रो सेमिफाइनल खेल बिजेता टिम संग प्रतिस्पर्धा गर्नेछ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । (नुवाकाेट सेराेफेेराेबाट)