उपाधिका लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य

काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

मलेसियालाई पराजित गर्दै क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश नेपाल

काठमाडौं । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ । रासस

बूढानीलकण्ठमा पहिलोपटक प्रथम मेयर कप फुटसल हुँदै

साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोवल उच्च राख्न उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सन्देश कार्कीले बताउँछन् । कार्कीका अुनसार प्रतियोगिताको असार २५ गते फारम भर्ने अन्तिम म्याद भएकाले खेलमा भाग लिन ईच्छुक समूहले आफ्नो वडामा गई आवेदन फारम भर्नुपर्ने जानकारी समेत दिए । वडा/वडाबीच प्रतियोगिता हुने उक्त खेलमा नगरपालिकाभित्रकै स्थानीय खेलाडी हुनुपर्ने क्लबले जनाएको छ । स्थानीयस्तरमा फुटसल खेल अहिले निकै लोकप्रिय हुँदै गइरहेको छ । रासस