पोखरा रङ्गशालाभित्र ह्याण्डबल एकेडेमी निर्माण सम्पन्न

काठमाडौं । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताएका छन् ।   एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला/पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ । ४०/ २० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ । एकेडेमी उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताए । एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ । ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् । रासस

पारस, ज्ञानेन्द्र र शरद बने रूस्लानको ब्रान्ड एम्बेसडर

काठमाडौं ।  रुस्लानले ३ क्रिकेटरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।  क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई  एम्बेसडर नियुक्त गरेको हाे । लामो समयदेखि फुटबल र क्रिकेटसँग सहकार्य गर्दै आएको रुस्लानले समर्थनका साथ जावलाखेल गु्रप अफ इण्डस्ट्रिसका  कार्यकारी निर्देशक शशिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा विश्वास उत्कृष्टता र दृढता नेतृत्वको आधार हुने हुँदा खेलकुदको क्षेत्रमा रुस्लानले आफुलाई दरिलो ढंगले प्रस्तुत गरेको छ । नेपाललाई विश्व सामु चिनाउन यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा विस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।

नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल भलिबल संघको दोस्रो एनभिए अवार्ड कार्यक्रम आयोजना गरिएको छ । जनता बैंक नेपालका नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन् । नेपाल भलिबल संघ एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख जनता बैंकले प्रायोजन गर्ने भएकाे छ । उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गराउने जानकारी दिएका थिए । गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी सम्झौता गरिएको छ । जनता बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग गर्ने जनाएको छ ।