काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको एकपक्षीय खेलमा ब्राजिलले हाइटीमाथि रोमाञ्चक र फराकिलो जित निकाल्दै प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको हो ।
पहिलो खेलमा मोरक्कोसँग १-१ को निराशाजनक बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो ।

खेलको सुरुवाती मिनेटदेखि नै हाइटीको रक्षापंक्तिलाई दबाबमा राखेको ब्राजिलका लागि २३औँ मिनेटमा म्याथ्युज कुन्हाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि टोली पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुगेको थियो ।
दोस्रो हाफमा हाइटीले ब्राजिलको बलियो आक्रमणलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। ब्राजिलले रक्षापंक्ति र मिडफिल्डमा पूर्ण नियन्त्रण राख्दै हाइटीलाई पुनरागमनको कुनै मौका दिएन ।
यो जितसँगै समूह ‘सी’मा ब्राजिलले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ भने पहिलो खेलको बराबरीको दबाबलाई समेत पन्छाएको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्याथ्युज कुन्हा प्लेयर अफ दि म्याच चुनिए ।
