आइएमई ग्रुपका ग्राहकलार्इ बुढानिलकण्ठकाे भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् । ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुपअन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी मंसिर १ गतेबाट दुई वर्षसम्म कायम हुनेछ ।

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै, आइतबार चन्द्रागिरिकाे प्रर्दशनीमा राखिने

काठमाडौं । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै, आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिए । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । रासस

राष्ट्रिय तेकवान्दो संघ नेपालको राष्ट्रिय रेफ्री तालिम सुरु

काठमाडौं। राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु भएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राज्यले खेलकुदको क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन नसकेका बताए । असोज १४ गतेसम्म भरतपुरको कबर्ड हलमा हुने रेफ्री तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी भएका रेफ्रीहरुले मात्रै तेकवान्दोको स्थानीय, जिल्ला स्तरीय, प्रदेश तथा राष्ट्रिय प्रतियोगिता खेलाउन पाउने राष्ट्रिय तेकवान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।