“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार

काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ ।  फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ । इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् । कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् । जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए । त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ । साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् । साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।

बंगलादेशमा भएको कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

बंगलादेश । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण, ३ रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएमो छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल टिम च्याम्पियन भएको हो । पुरुषतर्फ दिनेश ताम्राकार, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुँदै स्वर्ण पदक जितेका थिए । त्यसैगरी महिलातर्फ अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मला तामाङले स्वर्ण पदक जिते । अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ , अशोक पहाडी, बिनोद राउत, वीरेन्द्र कर्ण लगायतको सहभागिता रहेको थियो । नेपालका टिम म्यानेजर प्रिमेश शिवाकोटीका अनुसार नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेक‍ो थियो ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौँ । बंगलादेशमा मार्च १७ र १८ मा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली खेलाडी बुधबार स्थल मार्ग हुँदै त्यस तर्फ प्रस्थान गरेका छन् । टिम चोक, टिम म्यानेजर, निर्णयक र खेलाडी सहित २२ सदस्यीय टोली भारतको कोलकाता हुँदै बंगलादेश गएको हो । करातेका अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको टोलीमा काठमाडौं र १ नम्बर प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईंले सफलताको शुभकामना सहित बिदाई गरेका थिए । १३ जना खेलाडी सहित बंगलादेश प्रस्तान गरेको टोलीको टिम कोचमा ज्ञानबहादुर बलामी रहेका छन् । टिम म्यानेजरमा पूर्ण बलामी र प्रिमेश शिवाकोटी रहेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ, बिनोदकुमार राउत, अशोक पहाडी, बिरेन्द्र कर्ण, जमुना रार्इले सहभागिता जनाएका छन् ।