तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
काठमाडौं । असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने भएको छ । शारिरीक सुगठन तथा फिटनेश संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले गर्र्न लागिएको उक्त प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यसरी, उक्त प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि संघका अध्यक्ष जीवन गिरीले जानकारी दिएका हुन् । प्रतियोगितामा जम्मा १३ लाख लाग्ने बताउँदै गिरीले अहिलेसम्म कार्यक्रम सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको र अन्य संघ, संस्था र गाउँपालिकाहरुले पनि सहयोगको प्रतिबद्धता रहेको बताएका छन् ।
मलेसिया विरुद्धको टि २० सिरिजमा नेपालको क्लिन स्विप
काठमाडौं । टि २० मा नेपालले मलेसियालाई पुनः पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको दोश्रो खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विवेकको क्षतिमा १६७ रनमै समेटिएको हो । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । शनिबारको पहिलो खेलमा पनि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । टि २० सिरिजमा नेपालले मलेसिया विरुद्धका दुबै खेल जितेर क्लिन स्विप गरेको हो ।
विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल अब धरानमा
धरान । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिएका छन् । असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उनले बताएका हुन् । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि रु एक करोड प्रदेश सरकार र रु ३३ लाख अखिल नेपाल फुटबल सङ्घ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । रासस