नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार
बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे। जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।
सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’
काठमाडौं । शंकरदेव कलेजले आयोजना गरेकाे ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट २०१९’ को उपाधि नेपाल कमर्श क्याम्पस(एनसीसी)ले हात पारेको छ । मुलपानी किक्रेट मैदानमा शुक्रबार(आज) भएको अन्तिम खेलमा सेन्ट जेभियरर्स कलेज (एसएक्ससी)लाई हराउँदै एनसीसीले उपाधि आफ्नो पक्षमा पारेको हो । टस जितेर बलिङ रोजेको एनसीसीले १७ ओभरमा जम्मा ४ विकेट गुमाएर १४० रनको टार्गेटलाई पुरा गरेको हो । उता सेन्ट जेभियरर्सले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । जुन एनसीसीले १७ ओभरमै सजिलै १४० रनको टार्गेटलाई मिट गरी खेल जितेको छ । जितसँगै एनसीसीले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता अर्थात रनरअप बनेको सेन्ट जेभिएरर्सले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै, प्रतियोगिताको ‘म्यान अफ द मेडल’ एनसीसीका कप्तानसमेत रहेका दिपेन्द्र मैनालीले जितेका छन् । मैनालीले ट्रफी सहित सपिङ भौचर र स्पेशल फुडको कुपन प्राप्त गरेका छन् । यस प्रतियोगिता गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । जसमा ७ कलेजका खेलाडीहरु सहभागी भएका थिए ।
सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’
लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी