सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन हुने
काठमाडौँ । गत वर्ष झैं यस वर्षपनि सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना हुने भएको छ । ‘साहसिक खेलकुद हाम्रो अभियान,धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात गर्दै खेलकूद विकास समिति सिन्धुपाल्चोकले साउन ३० गते तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना गर्ने भएको हो । खेलकुद विकास समिति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाको बारेमा जानकारी गरेको हो । पोखरीको उचाईको हिसावले विश्वको नवौं स्थानमा पर्ने पाँचपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न,धार्मिक साँस्कृतिक रुपले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । समितिका अध्यक्ष टासी शेर्पाले कार्यक्रको आयोजनाले पाँचपोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुधार र त्यस क्षेत्रलाई सबैले चिन्न र बुझ्न पाउने बताए । उनले कार्यक्रमको आयोजनाका लागि करिब १४-१५ लाख रुपैयाँ खर्च हुन सक्ने अनुमान गरेको बताए । प्रदेश नम्बर तीनका प्रदेशसभा सदस्य निमा लामाले पाँचपोखरी क्षेत्र धार्मिक एवमं साँस्कृतिक रुपले महत्वपूर्ण भएको बताउँदै यसको प्रचार प्रसार र संरक्षणले राज्यलाई धेरै नाफा पुगने बताए । उपत्यकाबाट सबैभन्दा नजिकको पर्यटकिय स्थल पाँचपोखरी र हेलम्बु भएको बताउँदै उनले यसको प्रवद्र्धनका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए । यस्तै पूर्व कानुनमन्त्री तथा प्रतिनिधी सभा सदस्य शेर बहादुर तामाङले यस कार्यक्रमले पर्यटक बढाउन र मुलुकको सम्बृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै पाँचपोखरी साँच्चीकै स्वर्गिय ठाउँ भएको उल्लेख गरे । तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को प्रतियोगितामा १ सय ५५ जनाले भागलिन सक्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम धावकलाई पचास हजार, दोस्रोलाई तीस हजार, तेस्रोलाई बीस हजार, चौथोलाई दश हजार र पाँचौ हुने धावकलाई पाँच हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिता पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ किमीको रहेको जनाएको छ । प्रतियोगितामा विभिन्न संघ सस्थाले सहकार्यको भूमिका खेल्ने भएका छन् ।
पोखरामा प्रथम कराँते च्याम्पियनसीपः भदाै १२ गते ६४ खेलाडीबीच प्रतिस्पर्धा हुने
कास्की । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताएका छन् । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद रु एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए । डोजो, सङ्घ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विसं २०६१ मा महसङ्घको गठन भएको बताइन्छ । प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने पोखरा रङ्गशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ । नेपाल क्योकुसिन कान कराँते सङ्घ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाइ कराँते सङ्घमा आबद्ध महिला तथा पुरुष गरेर २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताएका हुन् । स्थानीयस्तरबाट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने र प्रतियोगिता सञ्चालन गर्न रु पाँच लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ । रासस
टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
काठमाडौं । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । यता विजयी हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो । त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई यस्तै समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । रासस