१३औँ सागका लागि ३५ क्रिकेट खेलाडी छनोट

काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ । प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् । त्यसैगरी, छनोट हुने अन्य सदस्यमा मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा छनोटमा परेका छन् । त्यस्तै, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । रासस

कैलाशफाँटमा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताएका छन् । प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताएका छन् । उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताए । व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको जानकारी दिएका छन् । अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताए । रासस

कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।