स्पोर्टस अवार्डका लागि क्राउन प्लाजा बन्याे सहप्रायोजक
काठमाडौं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै होटलले अवार्ड र मञ्चको कार्यक्रमका लागि चार लाखसम्म बस्न र खानपानका लागि खर्च व्यहोर्ने छ । होटलका प्रबन्ध निर्देशक श्रेष्ठले अवार्डका लागि दुई दिनको खाना र १० वटा कोठा निःशुल्क दिने जानकारी दिए । यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ । यसरी,कार्यक्रममा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न १० विधामा प्रदान गरिने उक्त कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिँदै छ । रासस
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई,प्रथम विजेताले पाए रु चार लाख
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । बुधबार बिहान बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । त्यसैगरी, बहत्तर रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो । उक्त प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए । वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । रासस
‘गौतमबुद्ध’ रङ्गशालालाई प्रदेश सरकार र स्थानीय तह रकम छुट्याउँदै
काठमाडौं । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिएका छन् । मंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि रु पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ । महानगरभित्र रहेका २९ वटा वडाले रु पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताएका छन् । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले जानकारी दिए । गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उनीहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ । फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । उक्त रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ । रासस