बूढानीलकण्ठमा पहिलोपटक प्रथम मेयर कप फुटसल हुँदै
साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोवल उच्च राख्न उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सन्देश कार्कीले बताउँछन् । कार्कीका अुनसार प्रतियोगिताको असार २५ गते फारम भर्ने अन्तिम म्याद भएकाले खेलमा भाग लिन ईच्छुक समूहले आफ्नो वडामा गई आवेदन फारम भर्नुपर्ने जानकारी समेत दिए । वडा/वडाबीच प्रतियोगिता हुने उक्त खेलमा नगरपालिकाभित्रकै स्थानीय खेलाडी हुनुपर्ने क्लबले जनाएको छ । स्थानीयस्तरमा फुटसल खेल अहिले निकै लोकप्रिय हुँदै गइरहेको छ । रासस
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थाले पायो अनुमति, ३ अर्ब लाग्ने अनुमान
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको थियो । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताए । रङ्गशाला निर्माणको काम शुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिएका छन् । सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुनलागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताएका छन् । यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउण्डेशनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उनले आग्रह गरेकी छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रङ्गशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताएका छन् । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रङ्गशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए । बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने/नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब रु तीन अर्ब खर्च गरेर फाउण्डेशनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो । रासस
चिलीलाई हराउँदै पेरु पुग्यो कोपा अमेरिका कपको फाइनलमा, ब्राजिलसँग भिड्ने
काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ । पेरुलाई फाइनलमा पुर्याउन इडिसन फ्लोरेसले २१, योसिमर युटिनले ३८ र पाओलो गुरेरोले ९१ मिनेटमा गोल गरेका थिए ।