एमालेले गर्‍यो जेनजी आन्दोलनका घटनामा संलग्नहरूको पहिचानका लागि सूचना बैंक स्थापना

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि प्रमाण संकलन गर्ने उद्देश्यले सूचना बैंक स्थापना गरेको छ । पार्टीका एक नेताका अनुसार आन्दोलनका समयमा विभिन्न व्यक्तिहरूले टिकटक, रिल तथा अन्य सामाजिक सञ्जालमा राखेका भिडिओ र तस्विरहरूबाट प्रमाण संकलन गरी सुरक्षित राख्ने तयारी भइरहेको छ । नयाँ प्रमाणहरू फेला परेमा ती पनि केन्द्रीय स्तरमै भण्डारण गरिने उनले जानकारी दिए । एमालेले देशभरका सरकारी कार्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनासम्बन्धी सबै प्रमाण संकलन गर्न केन्द्रीय कार्यालयमा विशेष डेस्क स्थापना गरीएको जनाएको छ । पार्टीका अनुसार यस अभियानको मुख्य उद्देश्य ती घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानूनी कारबाहीका लागि आवश्यक प्रमाणिक आधार तयार गर्नु हो ।

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।' यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।  

‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा

काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो ।      आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । 'नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन,  कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो', उनले भने ।      पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताए । 'हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो', उनले भने ।