नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पुनः सुरू भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक करिब दुई घण्टा ढिलो गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको हो । यो बैठक असोज २८ गते बसेको केन्द्रीय समिति बैठककै निरन्तरता हो । तिहार र छठ पर्वका कारण केही दिन स्थगित भएको बैठक आजबाट फेरि निरन्तर भएको हो । बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रको संगठनात्मक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । 

शनिबारसम्म वर्षा र हिमपात : ‘मोन्था’ चक्रवातले ल्यायो मौसम परिवर्तन

काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।  आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।   

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा सञ्चार माध्यममा आएका समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ । बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले हाल केही सञ्चार माध्यमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार प्रसारित गरेको उल्लेख गर्दै त्यस्ता विवरणमा कुनै सत्यता नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, 'कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुन सक्दैन ।' प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार बनेको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको छ । गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको उल्लेख गरिएको छ । यस संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई सचिवालयले आग्रह गरेको छ ।