विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार ३२७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा  हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो १ः३० बजेसम्म एक हजार ३२७ प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।  कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ ।  संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।  

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा

सिरहा । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।      सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आइतबार करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भगवानपुर गाउँपालिका–३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।      चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको छ ।      नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।      यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जानकारी दिए ।   

नाम फिर्ता नभए के हुन्छ ? रास्वपा-उज्यालो एकतापछिको बन्दसूचीले जन्मायो कानुनी र राजनितिक बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकतापछि उज्यालो नेपाल पार्टीतर्फबाट समानुपातिक बन्दसूचीमा परेका व्यक्तिहरूको हैसियतलाई लिएर नयाँ राजनीतिक बहस सुरु भएको छ । कानुनी व्यवस्थाअनुसार कुनै पार्टीसँगको एकता वा सम्बन्ध टुटेपछि सम्बन्धित पार्टीको बन्दसूचीमा रहेका व्यक्तिले औपचारिक रूपमा नाम फिर्ता लिनुपर्ने प्रावधान छ । तर उज्यालो नेपाल पार्टीको तर्फबाट बन्दसूचीमा परेका व्यक्तिहरूले हालसम्म निर्वाचन आयोगमा उपस्थित भई नाम फिर्ताका लागि कुनै निवेदन नदिएको आयोगले जनाएको छ । 'उहाँहरू अझै आइपुग्नुभएको छैन । भोलि २८ गतेसम्मको म्याद भएकाले त्यतिन्जेल कुर्नुपर्छ,' आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले भने । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया शनिबार नै औपचारिक रूपमा अन्त्य भएको छ । उज्यालो नेपाल पार्टीका १४ जना उम्मेदवार बन्दसूचीमा रहेका थिए । उनीहरूको औपचारिक नाम फिर्ता नभएसम्म उनीहरूको राजनीतिक हैसियत र प्रतिनिधित्वको विषय अन्योलमै रहने देखिन्छ । रास्वपाका सहप्रवक्ता रमेश प्रसाईंले यस विषयमा प्रतिक्रिया दिँदै भने, 'उहाँहरूले पद र व्यक्तिगत लाभका लागि नभई एकताको पक्षमा छौँ भन्नुभयो भने हामी उहाँहरुकै नाम राखेर पनि अगाडि बढ्न सक्छौँ । हाम्रो कुरा यत्ति हो, उहाँहरू एकताको भावनासहित अघि बढ्न तयार हुनुपर्‍यो ।' बन्दसूचीको विषय केवल कानुनी नभई राजनीतिक सहमति र इच्छाशक्तिसँग समेत जोडिएको स्पष्ट देखिएको छ । प्रसाईंको अभिव्यक्तिपछि उज्यालो नेपाल पार्टीबाट बन्दसूचीमा परेका केही नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने सम्भावना समेत देखिएको छ । यदि क्लस्टरअनुसारको सूची मिलेमा र बन्दसूचीमा रहेका नेताहरूले नाम फिर्ता लिन मानेनन् भने सच्याउन नसकिने कानुनी प्रावधान रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए । त्यस्तो अवस्थामा उज्यालो नेपाल पार्टीका नेताहरू रास्वपाका सांसदका रूपमा संसद् प्रवेश गर्न सक्ने अवस्था बन्न सक्ने देखिन्छ ।