गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ । गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् । प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ । प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ । गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागमा देशभर एमालेको प्रदर्शन
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका स्थानीय तहमा प्रदर्शन गरेको छ । पार्टीको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न नगरपालिका र गाउँपालिकामा मोटरसाइकल ‍र्याली, नारा जुलुस र सभाहरूको आयोजना गरिएको एमालेले जनाएको छ । एमालेका अनुसार उक्त कार्यक्रमको उद्देश्य जनतामाझ पार्टीको आन्दोलनका एजेन्डा स्पष्ट पार्ने र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा जनमत सृजना गर्ने रहेको छ । पार्टीका स्थानीय नेताहरूले र्यालीहरूमा सहभागी जनतालाई सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाको विरोध र लोकतान्त्रिक अभ्यासको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन् । देशका सबै स्थानीय तहहरूमा एकैसाथ आयोजित यी प्रदर्शनहरूमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा : देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
चितवन । होटल पौवाले १६औं शाखा चितवनको भरतपुरमा समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म वृहत् नेपाली खाना प्रवर्द्धन कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त वृहत् नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् । होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । 'पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,' भण्डारीले भने । भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । उनले भने, 'नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।' पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । 'हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ,' उनले भने । त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पुर्याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गरे । उनले भने, 'नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डोर्याइरहेका छौँ ।' होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गरे । उनका शब्दमा, 'चितवन नेपालको मध्य भाग हो, देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य । चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीकाजस्ता धार्मिक तथा प्राकृतिक आकर्षणका बीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ ।' नेपालमा विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताए । रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ । स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना 'भातभान्छा' को प्रवर्द्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । 'नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो । ६ महिनाका बीच नेपालगन्ज र भैरहवाबाट सुरुगरेको यो ब्राण्डलाई निरन्तर विस्तारको योजना रहेको छ', उपाध्यक्ष न्यौपानेले बताए । देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउँछ । विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।