नेपाली कांग्रेसले अबको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्छ : कल्याण गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीले अबका सबै गतिविधि आगामी २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई संविधानको मूल बाटोमा फर्काउने एक मात्र माध्यम स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएका हुन् । गुरुङका अनुसार विषम परिस्थितिजन्य बाध्यताले देशलाई अलिकति सिधा बाटोबाट अलग पारेको छ, तर चुनावले मात्रै नेपालको संविधानलाई फेरि मूल बाटोमा ल्याउन सक्छ । उनले पार्टीका सबै तह केन्द्रीय कार्य समिति, प्रदेश, जिल्ला र वडा समितिसम्म तन, मन र वचनले चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए । 'नेपाली कांग्रेसको अहिलेको मूल लक्ष्य चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ,' गुरुङले भने । चुनावले मात्र बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान राख्न सक्छ । गुरुङले उम्मेदवार छनोटदेखि समितिहरूको पुनर्गठनसम्म पहिलो पटक अवसर नपाएका युवाहरूलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार पार्टीभित्र राजनीतिक न्याय, समान अवसर र व्यवहारिक वितरणको अनुभूति हुनुपर्छ । गुरुङले नेपाली कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने बताए । तर राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा आवश्यकता अनुसार अन्य दलसँग सहकार्य गर्न सकिने सम्भावना खुला राख्नुपर्ने उनको मत छ ।
दिल्ली विस्फोट घटनामा प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको विस्फोटप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ट्विटर (एक्स) मार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, 'हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोटबाट स्तब्ध र दुःखी छु । शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखको घडीमा नेपाल भारतसँग एकताको भावनासहित उभिएको छ ।' प्रधानमन्त्री कार्कीले उक्त घटनाबाट प्रभावित परिवारहरूलाई बल र धैर्यको कामना गर्दै नेपालको तर्फबाट सहानुभूति प्रकट गरेकी हुन् ।
एकैदिन तोलामा करिब पाँच हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा करिब पाँच हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो । सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार १७० रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उच्च दरमा वृद्धि भएपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।