प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन उपत्यका समितिको दोस्रो सम्मेलन मंसिर ५ गते हुने

काठमाडौं । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल उपत्यका समितिको दोस्रो सम्मेलन यही मंसिर ५ गते शुक्रबारका दिन हुने भएको छ । सम्मेलन आयोजक समितिका सचिव रामचन्द्र भण्डारीले दिएको जानकारी अनुसार सम्मेलन किम्ची रेष्टुरेन्ट, अनामनगर, काठमाडौंमा दिनको ठिक १ बजे सुरु हुनेछ । सचिव भण्डारीका अनुसार उक्त सम्मेलनमा उपत्यका भित्रका सबै जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू र विशेष जिल्ला कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनले आगामी कार्ययोजना, संगठन सुदृढीकरण र कानूनी क्षेत्रका प्रगतिशील मुद्दाहरूमा साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखेको  छ । पिपिएलए उपत्यका समितिको यो दोस्रो सम्मेलनले संगठनको गतिविधि समीक्षा, नयाँ कार्यदिशा तय र आन्तरिक संरचनात्मक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बिहीबारदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उनलाई आजैदेखि लागू हुनेगरी स्थान हद लगाएको जानकारी दिए । विज्ञप्तिअनुसार खापुङले आयोगकाे स्वीकृति बेगर काठमाडाैं उपत्यका छाड्न र विदेश भ्रमण गर्न पाउने छैनन्। आयोगले यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।  

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आचारसंहिता सम्बन्धी छलफल सुरु गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरु भएको छलफलमा मुख्य दलका प्रतिनिधिहरू सहभागी रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले प्रस्तावित नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी र तमलोपा लगायतका दलहरू सहभागी छन् । बैठकमा आगामी निर्वाचनमा निष्पक्षता कायम राख्नका लागि दलहरूले पालना गर्नुपर्ने आचारसंहिता, उम्मेदवारका व्यवहारिक मापदण्ड, र संवैधानिक आयोग तथा जनप्रतिनिधिहरूले पालना गर्नुपर्ने आचरणका विषयमा विस्तृत छलफल भइरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार छलफलपछि दलहरूबाट प्राप्त सुझावका आधारमा आचारसंहिताको अन्तिम मस्यौदा तयार पारिनेछ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो बनाउन सबै दलहरूको सहकार्य आवश्यक रहेको बताएको छ ।