प्रधानमन्त्रीमा कार्की नियुक्त भएकोमा अमेरिकाले गर्यो स्वागत
काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकाेमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख छ ,'हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ।' दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, 'देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।'
जेल फर्कने बेलामा रवि भन्छन् : ‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री पाएका छौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय प्राप्त हुने विश्वाससहित कारागार फर्कन लागेको बताएका छन् । उनले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने आशा रहेको उल्लेख गरेका छन् । आज आफ्नो जन्मदिन परेको प्रसंग जोड्दै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार जाँदैछु ।' नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनेरेशन जेड (जेन्जी) आन्दोलनका क्रममा बाहिर निस्किएका थिए। सुरुमा उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरेका थिए । तर, प्रशासनले उनलाई थमाएको भनिएको पत्रबारे औपचारिक जानकारी नदिएपछि यसबारे आलोचना बढेको थियो । आलोचना चर्किएपछि लामिछाने स्वयं कारागार फर्किन लागेका हुन् । उनले यस विषयमा अनावश्यक मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।