जेनजी भन्छन्– अब हामी विदेश जान नपरोस्

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्न सक्ने विश्वास समेत व्यक्त गरे । उनले भने,  ‘देशले नयाँ अभिभावक पाएको छ । अब मध्यावधि निर्वाचन हुँदैछ । यसप्रति हामी सकारात्मक हुनुपर्छ । विगत दश वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रधानमन्त्री भइराख्नुभएको थियो । अहिले नयाँ नेतृत्व आएको छ । अब मुलुकमा परिवर्तन हुन्छ भन्ने आशा राखेका छौँ ।’ वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको सङ्कट टरेको भए पनि भविष्यमा आउन सक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ ।  उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरू थिएन । मुलुकमा परिवर्तन धेरै भए पनि जनताले महसुस गर्न नपाएको अवस्थामा विकल्पको रूपमा कानुन जानेको र देशलाई माया गर्ने मान्छे भएको कारण यो सकारात्मक सन्देश देखिएको छ । उहाँबाट आस गर्न सकिन्छ । तर यस अगाडिका पाइलाहरू धेरै नै अप्ठ्यारा छन् । त्यसकारण अब सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’ अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक सङ्केत सङ्केत भएको बताए । उनले युवाहरूको क्रान्तिको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।  उनले भने, ‘अहिलेको विकसित घटनाक्रम हेर्दा अनुभवी मान्छे नै प्रधानमन्त्री बस्दा राम्रो हो । अहिले सबैतिर अस्तव्यस्त भएको छ । सुशीला कार्की प्रधानमन्त्री हुनु राम्रो हो । अब हामी विदेश जानु नपरोस् ।’ नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरिसकेका छन् । साथै फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ । 

संविधान खारेज भए नयाँ संविधान आउन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको संविधान २०७२ खारेज भए अर्को संविधान आउन नसक्ने बताएका छन् । अत्यन्तै ठूलो लगानीबाट बनेको संविधान खारेज गर्ने सोच कसैले राख्न नहुने बताएका छन् । एक भिडियो जारी गर्दै भट्टराईले पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । एमालेको सरकार भएको बखत उक्त सरकारले भौतिक पूर्वाधार निर्माणमा अत्यन्तै ठूला–ठूला काम गरेको भट्टराईले बताएका छन् । 'यसका बाबजुद हामीले केही कमजोरी गर्‍यौं, त्यसका लागि माफी माग्न चाहन्छु,' उनले भने । तीनै कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टीलाई अर्को उचाइ दिन सबैलाई जुट्न भट्टराईले आह्वान गरेका छन् । 'अब व्यक्ति र पार्टीको रूपान्तरण आजको आवश्यकता हो । आउनुहोस्, देश र पार्टीलाई अझ बलियो बनाउने दृढताका साथ अगाडि बढौँ,' सचिव भट्टराईले भने ।

शनिबार यी प्रदेशमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।