निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाइन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकारेका छन् ।  उनले बिहीबार सामाजिक सञ्जालमार्फत निर्वाचनको परिणाम आएको एक सातापछि अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिन र लोकतन्त्रमा अन्तिम फैसला जनताको हुने बताएका हुन् ।  ‘जनताको त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ उनले भनेका छन्,’ कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘ तपाईंहरूको विश्वास हाम्रो शक्ति र हाम्रो ताकत रहेको उनले उल्लेख गरेका छन् । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीले धारणा व्यक्त गरेका छन् ।

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका खातिर सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, आपत्कालीन नियन्त्रणकक्ष नेपालका नियोगसँग सम्पर्कमा आएकाहरूलाई सहयोग गर्ने निर्णय भएको छ ।  यही फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा हवाई हमला गरेपछि पश्चिम एसियाली मुलुकमा तनाव बढेको छ । रोजगारीका सिलसिलामा ती मुलुकमा धेरै नेपाली छन् । 

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २५ लाख  लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।