काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुँदै, विश्व चर्चित लेखकको जमघट

काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को औपचारिक घोषणा गरिएको छ । दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने यस महोत्सव आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

एनसेल फाउन्डेसनको सहकार्यमा हुने आठदिने कार्यक्रम यस वर्ष नेपाली साहित्यका अग्रज व्यक्तित्व गुरु प्रसाद मैनालीप्रति समर्पित गरिएको आयोजकले जनाएका छन् ।

महोत्सवमा नेपालसहित विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादजस्ता विषयमा केन्द्रित रहनेछ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् ।

यस वर्षको महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, साहित्यिक सम्पादक मार्टिन डोयल तथा ‘पोएट लौरिएट’ टिना चाङ लगायत विभिन्न देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

महोत्सवको उद्घाटन विशेष समारोहमार्फत गरिनेछ भने कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, अनुवाद तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा सत्र सञ्चालन गरिनेछन् ।

आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँग जोडिएको हिलिङको माध्यमका रूपमा व्याख्या गर्दै महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गर्ने बताए ।

महोत्सवले युवा साहित्यिक प्रतिभाको प्रवर्द्धनमा पनि जोड दिनेछ । कार्यशाला, मार्गदर्शन कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ पुस्ताका लेखकहरूलाई अवसर प्रदान गरिनेछ ।

यसैगरी, महोत्सवअन्तर्गत कवितामा आधारित अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै काठमाडौं दरबार स्क्वायर, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटलगायतका सांस्कृतिक स्थलको भ्रमण कार्यक्रम पनि समावेश गरिएको छ ।

आयोजकका अनुसार यस महोत्सवले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

Share News