सुन अहिलेसम्मकै महँगो, तोलामा २ लाख ३० हजार नाघ्यो

काठमाडौं । दसैँको बिदापछि पुनः सुचारु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य आइतबार एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो, सफा नगरी आवत-जावत गर्न मुस्किल

धादिङ । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय: शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ । आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने, 'सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन।' प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो । पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

वर्षायाम र सडक अवरोधले पर्वतका होमस्टे सुनसान

पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् । मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन् । वर्षायाम सुरु भएसँगै गत असारदेखिनै पर्यटकहरुको आगमनमा कमी भएपछि त्यहाँ सञ्चालित होमस्टे सुनसान बनेका हुन् । त्यहाँका सातवटै पालिकामा गरी ६२ घरबास सञ्चालनमा छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा छ, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टे समेत सञ्चालनमा छन् । जिल्लाको कुश्मा नगरपालि–३ दुर्लुङ्ग, वडा नं १४ आर्थर, फलेवास –२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुङ्खु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित घरबास वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको मोदी –८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा विभिन्न जिल्लाबाट पाहुनाहरु आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या सुन्यजस्तै रहेको छ । अब विस्तारै हिउँदयाम सुरु भएपछि पर्यटकहरु आउने क्रम सुरु हुने बताए। चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्ना साथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए। अहिले सडक समेत अवरुद्ध भएकाले पर्यटकहरु आउन सकेका छैनन् । यस्तै, मोदी–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमूना सामुदायिक होमस्टे पनि सुनसान छन् । गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटकहरु आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । वर्षायाममा न्यून पर्यटक आउने भए पनि सडक समेत अवरुद्ध हुँदा झनै ठप्प बनेको उनले जानकारी दिए । नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होमस्टेहरुमा पनि पर्यटकको चहलपहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडबाड सुरु हुने र पर्यटनको मौसमसमेत सुरु हुने भएकाले चहलपहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले बताए । रासस