रास्वपाका उम्मेदवार वीना गुरुङ विजयी

लेखनाथ । गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् । समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन् ।  वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिए  । कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी भएकी हुन् ।    

हुम्लामा मत गणना सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७ः४५ मा सुरु हुने भनिएको मत गणना करिब १ घण्टा १५ मिनेट पछि ९ः५ मा सुरु गरिएको हो ।      जिल्लाका विभिन्न मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो ।      मत गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मत गणना भइरहेको बताइएको छ ।      प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

धनकुटामा श्रम संस्कृतिका उम्मेदवार सानबहादुर राईको अग्रता कायमै

धनकुटा । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै  छ । आज साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो ।  हालसम्म गणना भएको ११ हजार ८८० मतमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले तीन हजार ९७२ र एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले तीन हजार ७०५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राईले दुई हजार २३८, रास्वपाका दिनेश भण्डारीले ५५६, राप्रपाले ११६ तथा जसपा नेपालले १११ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । हालसम्म ८३५ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभाका लागि तीन स्वत्रन्त्र र १४ दलसहित जम्मा १७ जनाको सहभागिता रहेको छ ।