पूर्वराजा ज्ञानेन्द्रले दसैँको शुभकामना दिदैं भने - युवापुस्ताको देशभक्ति र नवीन सोचले मात्र राष्ट्र बलियो हुन्छ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् । युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।
फागुन २१ मै चुनाव निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमता र सहयोग गर्न अपिल गरेका छन् । बडादशैं–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गर्दछु । यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछु ।' गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाट अर्को सरकार गठनको अवस्था नबनेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । नयाँ निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ । यस सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने आवश्यकता औंल्याउँदै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी तथा निजी क्षेत्रमा परेको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न सबै पक्षको सहकार्य अपरिहार्य भएको पनि उनले बताएका छन् । दसैँ पर्वको संरक्षण र सम्बर्द्धनले राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेम जागृत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले बडादशैं–२०८२ सबै नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा भर्ने शुभकामना व्यक्त गरेका छन् ।