काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हावाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भूभाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रबार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।
वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए । नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ । नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले उल्लेख गरे । उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए । उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ ।’ मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुशी नभई, त्यस अनुरुप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।
महिलाको शरीर आफैँमा ‘वारदात स्थल’ हो : सपना प्रधान मल्ल
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताएकी छन् । शुक्रबार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले बलात्कारका मुद्दामा ‘लोकेशन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उनले जानकारी दिइन् । अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गरिन् । मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परीक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पुर्याएको उनको भनाइ थियो । पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उनले उल्लेख गरिन् । सम्मेलनमा बोल्दै न्यायाधीश मल्लले भनिन्, ‘अनि अचम्म लाग्छ के कानूनहरु बदलिन्छ, यो हिंसाको कुरा गर्दाखेरि एउटा बालिका बलात्कृत भई । र त्यो बालिका बलात्कृत भएपछि शुरुदेखि नै मुद्दामा के आयो भन्दाखेरि उसको मुखमा बलात्कार गरियो मुखमा बलात्कार गरियो भन्यो । तर इन्भेस्टिगेसन गर्दाखेरि र मेडिकल रिपोर्ट माग्दाखेरिस्वास्थ्य परीक्षण गर्न पठाउँदाखेरि योनि परीक्षण गर्न पठाइयो । मुखमा बलात्कार भयो भनेको छ योनि परीक्षण गर्न पठाएको छ ।’ कुनैपनि हालतमा हिंसामा परेका महिला र बालिकाहरूको न्यायका लागि कसर बाँकी नराख्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।