नेपाली महिला फुटबल टोलीका तीन खेलाडी एसटीसी राइड र एसटीसी इनर्जीको ब्रान्ड एम्बेस्डर
काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका प्रसिद्ध ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी एनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन उत्कृष्ट खेलाडीहरूलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीलाई एसटीसी इनर्जी इन्डस्ट्रिजले ब्रान्ड एम्बेस्डर बनाएको हो । सम्झौताअनुसार राष्ट्रिय टोलीकी प्रख्यात फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, राष्ट्रिय टोलीसँग आबद्ध अनुभवी खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्ध गरिएको छ । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका यी तीनै खेलाडीहरूले आफ्नो अनुभव, ऊर्जावान प्रतिभा र समर्पणका माध्यमबाट नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय श्री एसटीसी ग्रुपले विगत लामो समयदेखि गुणस्तरीय र भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख उत्पादनहरू ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी पूर्ण रूपमा आधुनिक प्रविधिमा आधारित ‘मेड इन नेपाल’ ब्याट्री ब्रान्डहरू हुन् । नेपाली सडक, यहाँको मौसम र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु र भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन् । विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा यो ब्रान्ड निकै लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए ।
अस्थायी प्रहरी चौकी निर्माण गर्दा झडप, प्रहरीसहित ६ जना घाइते
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी निर्माण र सिमानाको विषयलाई लिएर झडप भएको छ । झडपमा जनप्रतिनिधि, कर्मचारी र प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ, मीनु कुँवर, प्रहरी महेश धामी र कुलबहादुर थापा रहेका छन् । हिमाली गाउँपालिका ३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण गर्दा स्थानीयहरूबीच सिमाना र निर्माणसम्बन्धी विवाद उत्पन्न भएको थियो । आक्रोशित समूहले निर्माण सामग्री समेत फालिदिएपछि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले प्रहरीलाई जानकारी दिएका थिए । हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल र ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानमा रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख मेयर गोपाल हमालसहितको ४० जनाको भ्रमण टोली पनि घटनास्थल पुगेको थियो । ड्रोनबाट भिडियो खिच्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका २ थालीका ४०–५० जना स्थानीय अचानक आक्रोशित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए । भनाभन र वादविवाद हुँदा दुवै पक्षबीच हातपात भएको उनले बताए ।
प्रतिष्ठित ‘इन्टरनेसनल बुकर प्राइज’ उपन्यास ‘ताइवान ट्राभलग’ लाई
काठमाडौं । ताइवानको परिकार र निषेधित प्रेमको कथामा आधारित उपन्यास ‘ताइवान ट्राभलग’ ले प्रतिष्ठित इन्टरनेसनल बुकर प्राइज जितेको छ । मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कुनै उपन्यासले यो सम्मान पाएको यो पहिलो पटक हो । यो उपन्यास ताइवानी लेखक याङ सुआङ जीले लेखेकी हुन् भने ताइवानी–अमेरिकी नागरिक लिन किङले अंग्रेजीमा अनुवाद गरेकी हुन् । यसको कथा सन् १९३० को दशकको ताइवानको पृष्ठभूमिमा आधारित छ, जुन समयमा यो जापानी शासनको अधीनमा थियो । यसमा दुई महिलाको ताइवानका विभिन्न परिकारहरूको यात्रालाई देखाइएको छ । उपन्यासलाई यसरी प्रस्तुत गरिएको छ कि मानौं यो कुनै पुरानो यात्रा संस्मरणको अनुवाद हो, जसमा काल्पनिक फुटनोटहरूसमेत समावेश छन् । सन् २०२० मा यो पुस्तक प्रकाशित हुँदा धेरै पाठकहरूलाई यो वास्तवमै कुनै ऐतिहासिक दस्तावेज हो जस्तो लागेको थियो । जुरी प्यानलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्तै आकर्षक र चलाखीपूर्वक लेखिएको परिष्कृत उपन्यास’ भनेकी छन् । कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा निस्कन्छिन् । उनीसँग ताइवानी अनुवादक ओ चिजुरु हुन्छिन्, जसको प्रेममा उनी पर्छिन् । उपन्यासले यी दुई पात्रहरूका माध्यमबाट प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्ताजस्ता विषयहरूको खोजी गर्दछ ।