घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान
काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो । फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ । ती चुनौती समाभान गर्दै फेस्टले ती कमी–कमजोरीलाई सम्बोधन गर्ने जनाइएको छ । प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्याउन सक्ने अपेक्षा राखिएको छ । चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजित पक्षले व्यक्त गरेको छ । आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो । आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाएको छ। हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो । दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ । घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ । तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ । नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ । फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।
आज कर्णाली र काठमाडौं भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपरान्ह ३:३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नै पर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
एनपीएल-२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, साविक विजेता जनकपुर ६ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको सानदार जित निकाल्दै लगातार पाँचौं जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने साविक विजेता जनकपुरको प्लेअफ सम्भावना अब गणितीय समीकरणमा मात्र सीमित भएको छ । खराब सुरुआतपछि इशान र विनोदको उत्कृष्ट ‘कम्ब्याक’ जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत निकै खराब रह्यो । स्कोर बोर्डमा जम्मा १ रन जोड्दा टोलीले आफ्ना दुई प्रमुख ब्याटर गुमाइसकेको थियो । ओपनर जन ब्रोन ‘डायमन्ड डक’ र क्रिस लिन १ रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो । तर, त्यसपछि क्रिजमा आएका इशान पाण्डे र विनोद भण्डारीले खेलको नक्सा नै बदलिदिए । १–२ को नाजुक स्थितिबाट उकास्दै यी दुईले तेस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ८ चौका र १ छक्काको मद्दतले अर्धशतकीय इनिङ खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको जिम्मेवारीपूर्ण योगदान दिए । अन्त्यमा हर्मित सिंहले १० बलमै ३ छक्का र १ चौकासहित २५ रन बनाउँदै टोलीलाई १७.४ ओभरमै जित दिलाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । अविनाश र स्कटको घातक बलिङ यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरू हाबी भए । अविनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए भने स्कट कुग्गेलिनले ३ विकेट हात पारे। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले अर्धशतकीय पारी खेले । ७४ रनमा ४ विकेट गुमाएको अवस्थामा उनले ३८ बलमा ५० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याएका थिए । जान निकोल लोफ्टी इटोनले ३९ रन बनाए । यो खेलमा जनकपुरले नियमित कप्तान अनिलकुमार साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तानी सुम्पेको थियो । तर, यो रणनीति सफल हुन सकेन । ओपनर आसिफ शेख र शुभ कंसाकार खाता नखोल्दै पेभिलियन फर्किएपछि जनकपुर सुरुदेखि नै दबाबमा परेको थियो । लगातार पाँच जितसहित सुदूरपश्चिम रोयल्सले उपाधि दाबेदारी बलियो बनाएको छ । उता गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सको भने अबको यात्रा अन्य टोलीको नतिजा र गणितीय सम्भावना माथि निर्भर रहनेछ ।