हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा.कमलप्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्ससँग भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले २०७५ सालको आर्थिक गणनामा ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक करिब १४ लाख प्रतिष्ठान समेट्ने लक्ष्य राखिएको बताए ।  हालसम्मको प्रगति उत्साहजनक रहेको र बाँकी अवधिमा लक्ष्य हासिल हुने विश्वास उनको छ । आर्थिक गणनाको स्थलगत कार्य वैशाख २ गतेदेखि शुरु भएको र आगामी असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । पोखरेलकाअनुसार आर्थिक गणना सफल बनाउन राष्ट्रिय तथ्यांक कार्यालयले शुरुदेखि नै निजी क्षेत्र, विशेषगरी व्यवसायी तथा उद्योगीहरूसँग सहकार्य गर्दै आएको छ । यही सहकार्यलाई थप प्रभावकारी बनाउन आज नेपाल चेम्बर अफ कमर्ससँग समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।  सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट देवेन्द्र लामिछाने र राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामछिानेले हस्ताक्षर गरे । पोखरेलले उक्त समझदारी केवल आर्थिक गणनामा सीमित नभई आगामी दिनमा आर्थिक तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित अन्य सर्वेक्षण, गणना र तथ्याङ्कसम्बन्धी कार्यहरूमा पनि सहकार्य विस्तार गर्ने उद्देश्य रहेको बताए । उनले पाँच वर्षे समझदारीपत्रमार्फत दुवै संस्थाबीच दीर्घकालीन सहकार्य अघि बढाइने बताए ।  सम्झौतापछि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । उनकाअनुसार सरकारले औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, हाल करिब ६०–६५ खर्ब रुपैयाँको अर्थतन्त्रलाई १०० खर्बभन्दा माथि पुर्याउने तथा प्रतिव्यक्ति आयलाई हालको करिब १५०० अमेरिकी डलरबाट झन्डै ३००० डलरसम्म पुर्याउने लक्ष्य लिएको छ । यी लक्ष्य पूरा गर्न अर्थतन्त्रका सबै क्षेत्रमा विस्तार र समृद्धि आवश्यक रहेको उल्लेख गर्दै आर्थिक गणनाबाट प्राप्त तथ्यांकले नेपालको स्रोत, सम्भावना र विभिन्न क्षेत्रको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी दिने बताए ।  सम्झौताअनुसार राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी बनाउने, निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने तथा आर्थिक सूचकसम्बन्धी तथ्यांक संकलन, प्रशोधन र विश्लेषणमा सहकार्य गर्ने सहमति भएको छ । साथै आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांकलाई गुणस्तरीय, विश्वसनीय र प्रविधिमैत्री बनाउने विषयमा पनि दुवै पक्षबीच सहकार्य हुनेछ । सम्झौतामा राष्ट्रिय आर्थिक गणना २०८२ को प्रचार–प्रसार, उद्यमी तथा व्यवसायीलाई तथ्यांकसम्बन्धी सचेतना अभिवृद्धि, आर्थिक पत्रकार तथा व्यवसायिक समुदायबीच तथ्यांक साक्षरता कार्यक्रम सञ्चालन, तथ्यांकमा आधारित अध्ययन–अनुसन्धान तथा प्रतिवेदन निर्माणमा सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । त्यस्तै, स्वचालित प्रणालीमार्फत आर्थिक तथा व्यावसायिक तथ्यांकको व्यवस्थापन, विश्लेषण तथा सार्वजनिक उपयोगमा ल्याउने कार्यमा पनि दुवै संस्थाले सहकार्य गर्नेछन् । सम्झौताअनुसार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी अडियो, भिडियो, ब्रोसर तथा डिजिटल सामग्री निर्माण गर्नेछ भने नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य व्यवसायी तथा सरोकारवालामाझ तथ्यांकसम्बन्धी जनचेतना फैलाउनेछ । सम्झौता पाँच वर्षसम्म लागू रहनेछ । आवश्यकताअनुसार आपसी सहमतिमा संशोधन तथा नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।   

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।          रफत सञ्चार क्लबद्वारा मंगलबार यहाँ आयोजित अन्तरसंवादमा उनले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताइन् । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उनले आग्रह गरिन् ।      उनले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताइन् । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य रहेको उल्लेख गर्दै सचेतक थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुटउपगुट तथा आन्तरिक मन्थन भएको बताइन् ।     

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।      उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो ।      ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना छन् भने राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जनामाथि कारबाही गरिएको छ ।      त्यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२, तीव्रगतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालक कारबाहीमा परेका छन् ।      उनले भने, 'हाम्रो उद्देश्य केवल राजस्व उठाउनु होइन, नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना घटाउनु हो ।' विशेषगरी मापसे, तीव्रगति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लङ्घन गर्ने गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्ता कार्यविरुद्ध कडाइ गरिएको जनाइएको छ ।