मनसुनको जोखिम घटाउन ट्राफिक प्रहरीको अभियान सुरु

काठमाडौं । सडक र सवारी लक्षित ‘मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३’ शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरिएको हो । अभियानअन्तर्गत नयाँ बसपार्कसहित कलंकी, नागढुङ्गा, फर्पिङ र भक्तपुर लगायतका स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा सुरु गरिएको छ । मनसुनको समयमा हुने सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन तथा दृश्यता कम हुने समस्याका कारण मानव जीवन र यातायात व्यवस्थापनमा चुनौती बढ्दै आएको सन्दर्भमा यस्ता जोखिम न्यूनीकरण गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एडभाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गरेका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्दै अभियानको औचित्यबारे प्रकाश पारेका थिए । सोही अवसरमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ‘लज ट्यागिङ प्रणाली’ लागू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी लगायत नगर प्रहरी, विभिन्न यातायात मजदुर संघ, व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

पर्वतको कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो ।      \ खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा आवश्यक अध्ययन, अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानका रूपमा पहिचान गरेर योजना अघि बढाइएको गाउँपालिकाले कार्यालयले जनाएको छ ।      एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने, नजिकबाट तारामण्डल र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमालगायत आकाशीय पिण्डबारे अध्ययन, अवलोकन तथा जानकारी प्रदान गर्न सकिने भएकाले यो ठाउँ खगोल अध्ययन केन्द्र स्थापनाका लागि उयुक्त रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पालिकाका जनप्रतिनिधि र विज्ञसहितको टोलीले भारतको नैनीतालस्थित खगोल अध्ययन केन्द्र अवलोकनपछि कालाञ्जरको योजना अघि बढाएको हो ।   केन्द्र स्थापनाका लागि योजना निर्माण गरी सङ्घीय सरकारको राष्ट्रिय योजना आयोग, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा पेस गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय समावेश भई बजेट विनियोजन भएमा शीघ्र काम अघि बढाइने उनले बताए ।           उक्त केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह, नक्षत्र, तारापुञ्ज तथा आकाशीय घटनाबारे प्रत्यक्ष अवलोकन र अध्ययन गर्न सहज हुनेछ । कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण तथा स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए ।       प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रम सञ्चालन गरिने तयारी छ । स्थानीय टीका पुनले केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा परिचित बन्नसक्ने उनको भनाइ छ ।      सरोकार भएका निकायका अनुसार केन्द्र स्थापनासम्बन्धी आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक चरणमा आधुनिक टेलिस्कोप जडान, सौर्यमण्डलको संरचनासम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थीलाई लक्षित विज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए ।       सुरुआती चरणमा यहाँ पुग्ने अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि पालिकाले करिब एक करोड रुपैयाँ खर्च गरेर आवास निर्माण गरिसकेको छ भने हेलिप्याड, सडकमार्ग तयार भइसकेको जलजला गाउँपलिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।         यहाँ खगोल अध्ययन केन्द्र स्थापनापछि विद्यार्थीले पुस्तकमा मात्र पढ्ने ग्रह, तारा, चन्द्रमा, सूर्यलगायत विषयकाबारेमा प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले विज्ञानप्रतिको रुचि बढ्ने भएको छ भने खगोल तथा अन्तरिक्ष विज्ञानबारे अनुसन्धान र अध्ययन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ । विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा सहयोग पुग्नुका साथै विज्ञान र प्रविधिप्रति युवापुस्ताको आकर्षण बढेर नयाँ आविष्कार र अनुसन्धानतर्फ प्रेरणा मिल्ने स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिए ।      यसैगरी, कालाञ्जर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै होटल, यातायात, स्थानीय व्यापार तथा रोजगारीका अवसर वृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ । धार्मिक र प्राकृतिक पर्यटनसँगै ‘विज्ञान पर्यटन’ का रूपमा नयाँ पहिचान स्थापित हुनसक्ने भएकाले गाउँपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष आचार्यले जानकारी दिए ।       कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडौँ लगानी गरिसकेका छन् । जलजलामा रहेको समथर भू(भागमा कृत्रिम ताल निर्माणको योजना अघि बढाइएको छ । रासस

नेपाल-भारत सीमामा सशस्त्र प्रहरीको ‘हाई अलर्ट’

काठमाडौं । नेपाल-भारत सीमामा सशस्त्र प्रहरी हाई अलर्ट भएको छ । नेपाल-भारत खुला सीमाबाट अनाधिकृत रुपमा विदेशी नागरिकको प्रवेश हुने आशंकामा प्रहरीले निगरानी बढाएको हो । पछिल्लो समय छिमेकी मुलुकमा क्षेत्रीय तनाव बढेपछि नेपालको खुला सीमाबाट अवैध नागरिकको नेपाल प्रवेश हुने आशंकामा सशस्त्र प्रहरी सजग भएको हो । सुरक्षाको उच्च जोखिम रहेको भन्दै सीमामा कडाइ गरिएको प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले बताए । सार्वजनिक रुपमा बाहिर आएजस्तो अवैध रुपमा कुनै पनि विदेशी नागरिक नभित्रिएको उनको भनाइ छ । 'विशेष सुत्र प्रयोग गरेका छौं । कुनै पनि मुलुकका नागरिक अवैध तरिकाले नेपाल भित्रिएका छैनन्,’ उनले भने, 'खुला सीमामा प्रहरीले सचेत भएर निगरानी बढाएको छ । अवैध नागरिक भित्रिन्छन् भनेर सजगसमेत छौं।' खुला सीमा भएका जिल्लामा प्रहरी अर्लट भएर सुरक्षा प्रदान गरिरहेको भट्टले बताए । अवैध नागरिक र गतिविधि नहोस् भनेर प्रहरी पूर्ण रुपमा सचेत रहेको उनको भनाइ छ । अवैध घुसपैठ रोक्न २४सै घण्टा पेट्रोलिङलाई तीव्र पारिएको सशस्त्र प्रहरीका उनले बताए । सीमामा आवतजावत गर्नेहरूको परिचयपत्र जाँच, अभिलेख राख्ने र शङ्कास्पद स्थानहरूमा सूक्ष्म निगरानीलाई कडाइ गरिएको उनले सुनाए। भारतफर्तको सीमामा २४९  बीओपी रहेको उनले जानकारी दिए । एक प्लाटुनमा २० देखि ३० जना सुरक्षाकर्मी रहेको भट्टले जानकारी दिए ।  प्रवक्ता भट्टले वीरगञ्ज, जोगबनी, सुनौली, नेपालगञ्ज र रुपैडिया लगायतका ठूल्ठूला नाकामा ६०/७० जना प्रहरीहरू परिचालन गरिएको जानकारी दिए । सीमा सुरक्षामा भने सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । भन्सार र सीमामा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ । त्यसैगरी, भन्सार सम्बन्धी प्रचलित ऐन अनुसार कानुनबमोजिम काम गरिरहेको उनले बताए । व्यापारिक प्रयोजनका लागि सामान आयात गर्नेलाई कडाइ गरिएको उनले बताए । सर्वसाधारण नागरिकलाई सामान आयात गर्दा सीमामा बाहिर आएजसरी कडाइ नगरिएको उनले उल्लेख गरे ।