विश्वकप क्रिकेट लिग–२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ । नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो । राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्याउने गरी सेवा सुरु गरिएको हुलाक अधिकृत सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्याउने गरी सेवा प्रदान गर्दा नागरिकलाई सुविधा पुग्ने विश्वास गरिएको छ । 'सरकारले नागरिकलाई कतिपय सेवा घरमै दिने योजना बनाएको छ, सोहीअनुसार राहदानी घरदैलोमानै पुर्याउने सेवाको सुरुआत गरेका हौँ, यसले सेवाग्राहीलाई सुविधा थप्ने विश्वास छ', हुलाक अधिकृत सापकोटाले भने । घरमै परिवारको सदस्यको राहदानी प्राप्त गर्दा खुसी लागेको विमला परियारले बताइन् । 'जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनका लागि समय व्यवस्थापन गरी पुग्नुपर्ने हुन्थ्यो, घरमै पाउँदा समयको बचत पनि भयो, त्याहाँ सम्म पुग्दा लाग्ने यातायात खर्च पनि बच्यो, धेरै सुविधा भयो', उनले भनिन् । नवलपुरमा पहाडी क्षेत्रसमेत रहेकाले उक्त क्षेत्रमा पनि यो सुविधा पुर्याइने हुलाक अधिकृत सापकोटाले बताए। ‘हामीलाई प्राप्त भएका राहदानी जुन पालिकाको भए पनि हाम्रा कार्यालय र सम्बन्धित पालिकाको कर्मचारीमार्फत घरमै पुर्याउँछौँ', उनले भने । यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ । रासस
अब झापामा राति पनि अन्तर्राष्ट्रिय खेल, फ्लडलाइटका लागि साढे ३ करोड बजेट
काठमाडौं । झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ साल यता दुइवटा अन्तर्राष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् । फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्कर प्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णु कुमार नेम्वाङले हस्ताक्षर गरेका छन् । खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । ‘खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो,’ नगर प्रमुख पोखरेलले भने, ‘यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।’ पछिल्लो समय भद्रपुरमा अन्तर्राष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युतको मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ । फ्लडलाइट प्रणाली जडान कार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।