भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौं । आराध्यदेव पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो ।  

भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गरेका थिए ।     

पशुपतिनाथका मूल अर्चकले बुझ्नुभएको चन्दन आजै गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाएका छन् । नेपाल र भारतका जनता जनताबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण भारतमा हुने विशेष प्रकारको चन्दन प्रत्येक वर्ष आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई प्राप्त हुने गरेको छ ।     

Share News