ट्रेड युनियन विघटनको निर्णयप्रति अन्तर्राष्ट्रिय संगठनको आपत्ति
काठमाडौं । ट्रेड युनियनहरूको अन्तर्राष्ट्रिय संस्था ट्रेड युनियन इन्टरनेशनल फर पब्लिक सर्भिस एण्ड एलाइडले नेपाल सरकारले सार्वजनिक सेवामा रहेका ट्रेड युनियनहरूको दर्ता खारेज तथा विघटन गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ । विश्वका मजदुरहरूको महासंघअन्तर्गत रहेको उक्त अन्तर्राष्ट्रिय संगठनले मंगलबार एक औपचारिक पत्र जारी गर्दै सरकारको कदमलाई श्रमिक अधिकारमाथिको गम्भीर आक्रमण भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ । संगठनले सरकारको उक्त निर्णयले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत श्रमिकहरूको प्रतिनिधित्वको अधिकार, संगठन खोल्न पाउने स्वतन्त्रता तथा सामूहिक सौदाबाजीको अधिकार कमजोर पार्ने जनाएको छ । उक्त संगठनले भनेको छ कि सरकारको कदमले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहेका श्रमिकहरूको आवाज दबाउने मात्र होइन, प्रशासनिक दक्षता बढाउने प्रयाससमेत प्रभावित हुन्छ । प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपाल सरकारको कदमलाई विभाजन र नियन्त्रणको रणनीति भएको बताएको छ । यसले श्रम शोषण, न्यून पारिश्रमिक र असुरक्षित कार्य वातावरणलाई बढावा दिन सक्ने चेतावनी दिएको छ । सरकारको यस्तो निर्णयले राज्यको स्थायित्वमा समेत नकारात्मक असर पार्ने र द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने संगठनको भनाइ छ । उक्त निर्णय नेपालको संविधान २०७२ को धारा ३४ र ३५ विपरीत भएको संगठनको दाबी छ । ती धाराले श्रमिकलाई ट्रेड युनियन गठन गर्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको संगठनले जनाएको छ । साथै, संगठनले नेपालले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रमिक महासन्धिको धारा ७ र ९ को समेत उल्लंघन भएको जनाएको छ । महासन्धिले मजदुरहरूको स्वतन्त्रता तथा सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गरेको स्मरण संगठनले गराएको छ ।
पर्यटकलाई कुट्ने तीन जना पक्राउ
काठमाडौं । ठमेलमा विदेशी पर्यटकलाई कुट्ने तीन जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षीय रचित चौधरी र दीपेश परियार रहेका छन् । एक जना नाबालकको रहेको प्रहरीले जानकारी दिएको छ । उनीको कुटपिटमा पर्ने व्यक्ति जर्मन नागरिक भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले पर्यटकलाई लुटपाट गर्ने योजना अनुसार कुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ । वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर सङ्कलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ । यस वर्ष पाँच–औँले तीन हजार छ किलो, वन लसुन एक हजार २००, सतुवा एक हजार ६५०, पाखनवेद सात हजार ५००, जटामसी चार हजार ५००, पाषणवेद तीन हजार किलो सङ्कलन गर्न सकिने कार्यालयले छ । यसैगरी कुरिलो एक हजार पाँच किलोग्राम, ठूलो ओखती दुई हजार २५०, मजिठो एक हजार ५००, सुगन्धवाल एक हजार ५००, बुहारीझार छ हजार, निमपात तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिए । उनका अनुसार धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार ८००, गुर्जो एक हजार ६००, कालीकाठ १५ हजार, बेल तीन हजार, अमला एक हजार ७६०, सिलटीमुर सात हजार ५०० किलो सङ्कलन गर्न सकिनेछ । त्यसैगरी कण्ठकारी ८०० किलोग्राम, हर्रो एक हजार २००, बर्रो एक हजार ६००, पिपला १२ हजार, बनकरेला दुई हजार, नुनढिकी एक हजार ७५०, काफल आठ हजार, काउलो ६००, सिस्नु सात हजार दुई, चिराइतो १५ हजार र कुकुरडाइनो दुई हजार किलो सङ्कलन गर्न सकिने छ । जिल्लामा ५८४ सामुदायिक वन, ४६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् । रासस