पर्यटकलाई हैरानी दिने १६ महिला पक्राउ
काठमाडौं । लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने १६ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार लेकसाइड क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप बढ्दै गएको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको भन्दै स्थानीय बासिन्दा र पर्यटकहरूबाट समेत व्यापक गुनासोको आधारमा अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाइएको छ । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्ने जस्ता कार्यमा केही व्यक्तिहरू सक्रिय रहेको सूचना र जनगुनासोलाई मध्यनजर गर्दै प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खजुरा बन्दै फुटबलको केन्द्र, गाउँमै हजारौँ दर्शक
राँझा । पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला बाँकको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । खजुरा क्षेत्रमा आयोजना हुने सानादेखि ठूला सबै फुटबल प्रतियोगितामा स्थानीय दर्शकको उल्लेख्य सहभागिता देखिन्छ । यहाँका गाउँमा हुने फुटबल प्रतियोगिता हेर्न टाढाटाढाबाट स्थानीय खेल मैदानसम्म पुग्ने गरेका छन् । अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले यहाँ हुने फुटबलमा खेलाडी र दर्शकको सहभागिताले खेलप्रति आकर्षण बढ्दै गएको देखाउने बताए । 'नेपालगञ्ज रङ्गशालामा हुने फुटबल प्रतियोगितामा दर्शक सङ्ख्या न्यून हुँदा खजुरा क्षेत्रमा भने यो सङ्ख्या बढ्दै गएको छ', उनले भो, 'खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादनको उर्वर क्षेत्र हो, यहाँ फुटबलप्रति स्थानीयको छुट्टै खालको लगाव छ ।' खजुरा गाउँपालिकामा नियमितजसो ठूलासाना धनराशिका फुटबल प्रतियोगिता आयोजना भइरहने जनाउँदै शाहीले यसले खेलाडी र फुटबलप्रेमीलाई उत्साहित बनाएको धारणा राखे । खजुरा गाउँपालिका-४, डीगाउँमा करिब रु ६० लाखको खर्चमा एन्टी एरिना प्रथम खजुरा गोल्डकप सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेतालाई रु सात लाख र द्वितीयलाई रु चार लाख नगद पुरस्कार प्रदान गरिने आयोजक न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए । 'पहिलो पटक गाउँमा गोल्डकप आयोजना गर्दैछौँ, सबैको साथ र सहयोग प्राप्त भएको छ', उनले भने, 'करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने हाम्रो अनुमान छ ।' एन्टी एरिना प्रथम खजुरा गोल्डकपमा यस क्षेत्रका साथै नेपालगञ्ज र कोहलपुरबाट समेत दर्शक सहभागी हुने गरेका खत्रीले बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै फुटबल खेलको विकास हुने बताउँदै गोल्डकपलाई आगामी वर्षदेखि पालिकाको वार्षिक बजेटमा राखेर निरन्तरता दिने जानकारी दिए । रासस
यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको भोलि सोमबार हुने बैठकका लागि विस्तृत कार्यसूची प्रस्ताव गरिएको छ । संगठनात्मक समीक्षा, पदाधिकारी मनोनयनदेखि नीति तथा विधि सुधारसम्मका विषयहरू समेटेर ९ बुँदे एजेन्डा तयार गरिएको प्रवक्ता मनिष झाले जारी प्रेस नोटमा बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे समग्र रूपमा ब्रिफिङ गरिनेछ । त्यसपछि २० जना केन्द्रीय सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो रिपोर्टिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनसम्बन्धी विषयलाई पनि प्रमुख एजेन्डाका रूपमा समावेश गरिएको छ । त्यस्तै आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको मस्यौदा पनि छलफलमा ल्याइनेछ । पार्टीको विधान संशोधनसम्बन्धी विषयलाई समेत बैठकको प्राथमिक एजेन्डामा राखिएको झाले जारी गरेको प्रेस नोटमा बताइएको छ । यससँगै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार, क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ । त्यस्तै प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार दिने विषयमा नीतिगत छलफल गर्ने तयारी गरिएको छ, जसलाई पार्टीको दीर्घकालीन राजनीतिक सुधारसँग जोडेर हेरिएको छ । बैठकमा सचिवालयका निर्णयहरूको अनुमोदन पनि गरिने जनाइएको छ । विविध शीर्षकअन्तर्गत विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमाथि छलफल, विषयगत विभागहरूको योजना तयारी तथा नीति निर्माणसम्बन्धी निर्देशन, र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयहरू पनि समेटिएका छन् ।