धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।  भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।  

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व संंकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।       यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको हो ।     

प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बिहीबार अपराह्न ५ बजेका लागि आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ । लामो समयदेखि न्यायपालिकाको नेतृत्व चयन प्रक्रिया अन्योलमा रहेका बेला आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा प्रधानमन्त्री शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मुख्य विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, उपसभामुख रुबीकुमारी थापा तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी हुनेछन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि योग्य उम्मेदवारको नाम सिफारिस गरेपछि उक्त नाम संसदीय सुनुवाइ समितिमा पठाइने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति हुने प्रक्रिया अघि बढ्छ ।