प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
काठमाडौं । ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा शनिबार पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेन-जी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए । ‘जेन-जी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए। ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनौँ’, उनले भने,’देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ । आर्थिक समृद्धिलाई साझा संकल्प बनाउन सबैलाई हाम्रो आग्रह छ ।’ स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ । ‘बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ’, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, ‘छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।’
यसपालि ६ दिन यमपञ्चक, यस्तो छ कारण
महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ । नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले छ दिन भएको हो । यसपालिको शारदीय नवरात्र १ः१० दिनकोे भएको थियो । महोत्तरीसहित मधेसका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी सुरु भइ भोलि आइतबार दिउँसो १ः५६ बजेसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउँछन् । 'त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ', झा भन्छन्, 'तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।' धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उनको कथन छ । यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सी सोमबार साँझ नै गरिने छ । सो दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँसी सुरु हुने हुँदा लक्ष्मीपूजा सोही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ । दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा सुरु गरिन्छ । यस्तै, यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँसीको रातमा गरिने लक्ष्मीपूजा सोमबार गरिए पनि सोही तिथिमा गरिने गौपूजा भने मङ्गलबार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यसअनुसार यसपालि गोधन बुधबार र भैयादुज बिहीबार सम्पन्न गरिनुपर्ने उनले बताए। सामान्यत शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् । 'यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि दुई दिन भोगमा रहँदा १० दिनको परेको थियो', उनी भन्छन् 'यसैगरी यमपञ्चक तिथिको भोग घटबढले छ दिनको भएको छ ।' दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् । रासस
सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते
चितवन । भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।